सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित डकुड्रामा ‘मौन’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। कम्पनिको आधिकारिक च्यानलमार्फत सार्वजनिक १ मिनेट १४ सेकेण्ड लामो टिजरमा एक आमाले आफ्नी छोरीसँग आँखाभरि आँसु लिएर भावनात्मक गल्ती स्वीकार गर्दै सुनाएको कथा मुख्य केन्द्रबिन्दु बनेको छ। टिजरले अटिजम सम्बन्धी गम्भीर पक्षलाई संवेदनशील तरिकाले प्रस्तुत गर्दै दर्शकको चासो बढाएको छ।
निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिकसँगै अब ‘मौन’लाई देश–विदेशका फिल्म फेस्टिवल, च्यारिटी शो र विशेष स्क्रिनिङहरूमा प्रस्तुत गर्ने तयारी भइरहेको छ। यसअघि फिल्मको दुईवटा पोस्टर सार्वजनिक गरिएको थियो, जसले नै दर्शकको ध्यान तानेको थियो।
यस डकुड्रामामा सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विष्ट, दिवस नाथ लगायतका कलाकारहरुले अभिनय देख्न सकिनेछ । टिजरबाटै ‘मौन’ले अटिजम जस्तो संवेदनशील र प्रायः बेवास्ता गरिने विषयमा गहिरो कथा बोकेको स्पष्ट हुन्छ।
निर्माता–निर्देशक ज्ञवालीले ‘मौन’लाई कुनै व्यावसायिक लाभका लागि नभई समाजमा चेतना र सहानुभूति बढाउन निर्माण गरिएको सामाजिक दायित्वको परियोजना भएको बताए। डकुड्रामाको कथा चर्चित लेखक रामशरण पाठकले लेखेका हुन्।