असोज ९ , कलिउड अपडेट ।
अमेरिकामा निर्माण भएको नेपाली चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ को ट्रेलर नेपालमा रिलिज भएको छ। काठमाडौमा सोमवार आयोजित एक समारोहमा अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर रिलिज भएको हो।
नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधरको प्रमुख आतिथ्यतामा अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर रिलिज भएको हो। प्रथम चलचित्र पत्रकार तुलाधरले चलचित्रको ट्रेलरको स्वीचअन गरेर वल्र्डवाइड रिलिज गरेका थिए। साथमा अग्रज पत्रकार तथा नामी साप्ताहिकका प्रधान सम्पादक नारायण राईले चलचित्रको पोष्टर सार्वजनिक गरेका हुन्।
ठूलो सपना बोकेर अमेरिका पुग्ने नेपालीको अमेरिकामा बस्दाको बास्तविक कथा र उनीहरुको अमेरिका भोगाईको यथार्थता चलचित्रमा हेर्न र देख्न पाइने छ ।
विषालु, सीमारेखा, हाउडे लगायतका कुनैबेलाका हिट चलचित्रका एक्सन नायक समेत रहेका ईश्वर थापाको निर्देशन रहेको छ। सुरेन्द्र नकर्मीको लेखन तथा शंभु मोक्तानको छायाँकन रहेको यस चलचित्रमा इसान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती पाउल, प्रियंका ऐर, अञ्जली लामा, राजेश गुरुङ, रघु गिरी, संझना उप्रेती, कृष थापा लगायतका कलाकारका साथमा नेपालका चर्चित गायक तथा नायक बाबु बोगटीको पनि विशेष भूमिका रहेको छ।
संगीत ओम कर्माचार्य र बाबु बोगटीले दिएका छन्। गीत ओम कर्माचार्य, बाबु बोगटी र ईश्वर थापाको रहेको छ। बाबु बोगटी, जगदीश समाल, अञ्जना गुरुङ र सविता श्रेष्ठको गायन रहेको छ। निर्मातामा राजेश गुरुङ, संझना उप्रेती र मञ्जु रानामगर रहेका छन्। निर्माण कंपनी ड्रिम्स गेट फिल्मस् प्रा.लि रहेको छ।
चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक तथा ट्रेलर शो कार्यक्रममा विजया दशमीको शुभकामना सहित अग्रज पत्रकार विजयरत्न तुलाधरलाई नेपालभाषाको प्रथम चलचित्र पत्रकारको रुपमा विधिवत घोषणा गरिएको थियो। साथमा युवा संस्कृतिविद पदम श्रेष्ठ, चलचित्र निर्माता राजेश गुरुङका भाइ नविन गुरुङ, निर्मात्री मञ्जु रानामगर, पत्रकार विराजकाजी राजेपाध्याय, फोटोपत्रकार च्याङवा लामा, सामाजिक अभियन्ता डेविड श्रेष्ठ लगायतले चलचित्र अमेरिकन बाबु मेड इन नेपालको सफलताको लागि शुभेच्छा व्यक्त गरेका थिए।