कार्तिक २४ , कलिउड अपडेट ।
नाजिर हुसेन र केकी अधिकारी स्टारर रोमान्टिक ड्रामा ‘राज्जा रानी’को प्रदर्शन मिति प्रिपोन्ड भएको छ । पूर्वनिर्धारित मितिबाट सिनेमा एक साता अगाडि प्रदर्शन हुन लागेको हो । वितरकसँगको समझदारीमा याम थापा निर्देशित सिनेमा पुस २१ गते देशव्यापी प्रदर्शन हुनेछ । उक्त मितिमा यो सिनेमा एक्लै रिलिज हुनेछ । निर्माण कम्पनी आर्यन फिल्म प्रोडक्सनले नयाँ रिलिज मिति घोषणासँगै रोमान्टिक गीत पनि लन्च गरेको छ ।
दीपक शर्माद्धारा संगीतबद्ध ‘चिपक चिपक’ बोलको गीतमा केकी र नाजिर फिचर छन् । नेपालगंजको पठारमा छायांकन गरिएको यो रोमान्टिक नम्बरमा नरहरि प्रेमी र सुमिना लोको स्वर समावेश छ । राजेन्द्र थापाले गीत लेखेका हुन् ।
विक्रम स्वाँरको नृत्य निर्देशनमा केकी र नाजिरको रसायन आकर्षक लाग्छ । अघिल्ला फिल्ममा पहाडी विषयवस्तुमा कलम चलाउँदै आएका निर्देशक एवं पटकथा लेखक थापाले पहिलोपटक मधेशी कन्टेन्टमा फिल्म निर्देशन गरेका छन् । नेपालगंज जन्मथलो भएकाले पनि उनलाई फिल्मको चरित्र चित्रणमा सजिलो हुने आशा छ ।
प्रेमकथामा आधारित सिनेमालाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । राज्जा रानीको बजेट १ करोड २५ लाख बताइएको छ ।