Like us on facebook

Advertisements

  • “बिहे गरेपछि फिल्म लाइनलाई जय नेपाल गर्नुस,बच्चा पाउँनुस,घरमा बस्नुस, नो टेन्सन”: छबिराज ओझा

    कार्तिक ७ गते बाट प्रर्दशनमा आउने चलचित्र लज्जा यतिबेला चर्चामा छ । लज्जाका निर्माता हुन् छबिराज ओझा । कलिउड अपडेट मा हामि प्रस्तुत गर्दै छौ निर्माता छबिराज ओझा संग गरिएको कुराकानि ।
    अन्तरबार्ता साभार – नेपाल पाटि डट कम ।
    chhabi raj ojha

    अहिले जताततै लज्जाकै चर्चा सुनिन्छ, तपाई आफै चाँही के गर्दैै हुनुहुन्छ ?

    मेरो सम्पूर्ण शक्तिनै लज्जामा लगाएको छु । विगत २५ वर्षदेखि चलचित्र उद्योगमा छु । मेरो पहिलो फिल्म ‘युगदेखि युगसम्म’ जसबाट राजेश हमाल फिल्मी क्षेत्रमा प्रवेश गर्नुभएको हो । मैले २० वटा फिल्म बनाइसकेँ । म धरानको मान्छे, दशैँमा पनि घर गइन । लज्जाकै लागि भन्दै सव हलमा घुमे, टेलर हेरेँ, पोष्टर कहाँ पुग्यो, कहाँ पुगेन, अहिले पनि त्यही काम गर्दैछु । मिडियाका साथीहरु धेरै हुनुुहुन्छ । सवै ठाउँमा म आफै भ्याउदिन । काही निर्देशकलाई त काही नायिका, काही नायकलाई पठाउने गरेको छु । बिहानदेखि बेलुकासम्म फुर्सद नै छैन ।

    किन सवै ध्यान लज्जामा मात्र केन्द्रित गर्नुभएको ? यसभन्दा अघि त यस्तो गर्नुभएको थिएन ?

    सवै फिल्ममा म यस्तै केन्द्रित हुन्छु । म सिनेमाको आमा हुँ । अहिले मैले डेलिभरी बोकिरहेको छु । ‘लज्जा’ भनेको मेरो बच्चा हो । पेटबाट निक्लिनका लागि छलपटीरहेको छ । जव म हलमा पुर्याउँछु तब निस्कन्छ । त्यतिबेला थाहा हुन्छ छोरा हो कि छोरी भनेर ।

    तपाईको तयारी, आएको रेस्पोन्ट हेर्दा के होला जस्तो छ ?

    शतप्रतिशत छोरा होला जस्तो छ । किन भने नेपाल भरबाट, देश बाहिरबाट, मिडियाका साथीहरुले, हलका साथीहरुले यसको रेस्पोन्स राम्रो छ भन्नुभएको  छ । हलमा आएर सोध्छन रे कहिले फिल्म लाग्छ भनेर । यो फिल्मप्रति धेरैको चासो छ । लज्जाको ‘मात लाग्यो’ भन्ने गाना अहिले सवैले गुनगुनाउन थालेका छन् । देउसी भैलोदेखि हरेक डान्स पाटीमा यही गीत बजेको छ । यसले गर्दा पनि धेरै चर्चामा आएको  छ । चेतन सापकोटालाई मैले नै चलचित्र क्षेत्रमा ल्याएको हुँ । रेखा फिल्म्सको पहिलो फिल्म ‘अजम्बरी नाता’ मा गाना पनि चेतनले नै गरेको हो । यो बीचमा जति गरेपनि त्यसपछि राम्रो गरेको भनेको मेरोमा नै हो भन्ने लाग्छ ।

    ‘लज्जा’ फिल्म किन बनाउनुभयो ?

    यो सिनेमाको कन्सेप्ट मेरो नै हो । स्टोरी मैले निर्देशक नवल नेपाललाई बताए । त्यसपछि उहाँले नै पटकथा लेख्नुभएको हो । मैले निर्देशक नेपाललाई किन छाने भने यसभन्दा अगाडि उहाँले ‘श्रीमान’ र ‘महसुस’ जस्ता चलचित्र बनाउनुभएको थियो । उहाँ नारी प्रदान  चलचित्र बनाउन खप्पिस नै मानिनुहुन्छ । विगत २५ वर्षदेखि उहाँ पनि सिनेमामा हुनुहुन्छ । तर त्यतिबेला उहाँ सहायक निर्देशक हुनुहुन्थ्यो । मेरो सिनेमालाई उहाँले राम्रो बनाइदिनुहुन्छ भन्नेलागेपछि लेखन कार्यको जिम्मा पनि उहाँलाई नै दिएको हुँ । मैले २५ वर्षदेखि निरन्तर सिनेमा बनाउको छु । ती सिनेमाहरुमा भन्दा फरक कथा यो सिनेमा भेट्नुहुन्छ । भोलि फिल्म हेरिसकेपछि तपाईलाई पनि लाग्छ यो अलग खालको फिल्म रहेछ । अहिले बनिरहेका कथा भन्दा लज्जा पृथक छ ।

    तपाईहरुले तयार पारेको प्रोमो हेर्दा लज्जामा शिल्पा पोखरेल मात्रै पो हुन कि ? हिरो नै छैन कि भन्ने जस्तो देखिन्छ नि ?

    लज्जा लेडिज सेन्टिमेन्ट सिनेमा हो । फस्ट फ्रेमदेखि लाष्ट फ्रेमसम्म शिल्ला पोखरेल हुनुहुन्छ । सिनेमाभित्र हेर्दा शिल्पा पोखरेलको तीन वटा क्यारेक्टर छ । हिरो चाँही एउटै हो आर्यन सिग्देल । अर्को कुरा आर्यनजी अलि विजी हुनुहुन्छ । शिल्पाजीले भने यो चलचित्र रिलिज नभएसम्म कुनै पनि सिनेमा गर्दिन भन्नुभएको छ । कामको मुल्याङकन नभइ अर्को काम गर्न जानुपनि राम्रो होइन भन्ने उहाँको सोचाइ छ । दर्शक, निर्माताहरुले मेरो काम हेर्नुहुन्छ अनि त्यसपछि अफर आयो भने म फिल्म खेल्छु भनेको हुनाले उहाँलाई नै अलि बढी हाइलाइट पनि गरेका छौँ ।

    शिल्पा पोखरेल नै किन रोज्नुभयो ?

    रेखा थापासंग म चार वर्षदेखि अलग भएपनि पछिल्लो समय ‘रावण’,  ‘हमेसा’ जस्ता फिल्म खेलाएँ । लोफर सिनेमा बनाउने बेलामा रेखाजी अमेरिका जाँदै हुनुहुन्थ्यो । त्यसक्रममा मैले नयाँ नायिका खोज्दै थिए । त्यही बेला मैले शिल्पाजीलाई बोलाएको हुँ । मैले जव शिल्पालाई देखे, त्यसपछि मलाई यो भोलिको अर्को रेखा थापा हुन सक्छे भन्ने लाग्यो । अनि मैले नानी तिमीलाई अर्को लेडिज सेन्टिमेन्टल फिल्मबाट खेलाउँछु । तिमीलाई म राम्रोसंग प्रस्तुत गर्छु, अहिले तिमी चिन्ता नगर भने । तर उनले मलाई पत्याइनन् । अरु निर्माताहरुले पनि बोलाएका थिए होलान । त्यस्ता गफ दिने धेरै थिए होलान । जव लज्जाको स्क्रीप्ट तयार भयो, त्यसपछि नायिका खोजौँ भन्ने कुरा आयो । पहिला त हाम्रो सोच रेखालाई नै खेलाउँने थियो । तर रेखालाई भनेका थिएनौँ । रेखाजीसंग काम गर्न मलाई गाह्रो हुन्छ कि भनेर निर्देशकलाई भनिसकेपछि नयाँ नायिका खोज्ने क्रममा शिल्पा आइपुगेकी हुन । शिल्पालाई बोलाएर नवलजीलाई भेट गराइदिए । नवलजीले अर्को कोठामा लागेर कम्तिमा एक महिना आउँ भन्नुभयो । त्यसपछि स्क्रीप्ट दिएर, ढलाउँदै–ढलाउँदै लानुभयो । नवलले यो केटीले गर्न सक्छे है भन्ने संकेत दिनुभयो । त्यसपछि मैले शिल्पालाई एक्टिङ स्कुलमा हालेँ । ४५ दिन उज्जल घिमिरेले शिल्पालाई एक्टिङ सिकाउँनुभयो । सवैबाट सकारात्मक कुरा आएपछि बल्ला हाम्रो सिनेमामा सम्झौता गरेका हौँ ।

    लज्जामा शिल्पाले सोचेजति गरिन या गर्न सकिनन ?

    शिल्पाले अभिनय गरेको म्युजिक भिडियो हेरेपछि फिल्ममा पनि अभिनय गर्न सक्छिन भन्ने मलाई लागेको थियो । उनले सय वटा भन्दा बढी म्युजिक भिडियोमा क्यामराको फेस गरिसकेकोले फिल्ममा अभिनय गर्न गाह्रो भएन । उहाँले सजिलै गर्नुभयो । उहाँलाई सम्वादमा गाह्रो हुनसक्थ्यो, नायक आर्यन सिग्देलसंग आउँन गाह्रो हुन सक्थ्यो होला । एक दिनमा सकिने म्युजिक भिडियो र डेढ महिना लाग्ने फिल्ममा काम गर्न सुरुसुरुमा अप्ठ्यारो होला कि भन्ने सोच भयो । पशुपतिमा एउटा सुटिङ भएको थियो । तर उहाँले पहिलो दिन नै राम्रो काम गर्नुभयो । त्यसपछि यो केटीले ववाल गर्छे भन्नेमा हामी ढुक्क भयौँ । लज्जाको सुटिङ सकियो । त्यसपछि ‘हवलदार सुन्तली’ भन्ने फिल्म बन्ने भयो । ऋषिजीले स्क्रीप्ट सुनाउनुभयो र भन्नुभयो नायिका को राख्ने ? त्यसपछि मैले भने लज्जा हेर्नुहोस एकपटक । उहाँले लज्जा हेरिसकेपछि भन्नुभयो ‘यो केटीलाई बोलाइदिनुस, यो नै ठीक छ ।’ ऋषि लामिछानेको च्याइटमा सेकेण्ड फिल्म शिल्पाले पाउनुभयो । मैले नायक–नायिका ल्याएर निर्देशकको अगाडि राखिदिने मात्र हो । बाँकी त उहाँहरुले काम गर्ने हो ।

    भनेपछि शिल्पा पोखरेल रेखा थापालाई विस्थापित गर्ने गरी आउँछिन ?

    रेखा थापाले हिमाल चढिसकेको छ । उनी त बनिसकेकी छिन । रेखा थापाको स्थान कसैले पनि लिन सक्दैन । तर त्यस्तो बनाउने कोसिस गर्नुपर्छ । म शिल्पालाई त्यस्तो बनाउने कोसिस गर्नेछु ।

    राजेश हमालदेखि रेखा थापासम्म उत्पादन गर्नुभयो । तर नयाँ ल्याउँदै, फेरि छाड्दै गरेर अस्थिरता त प्रस्तुत गरिरहनुभएको छैन ?

    मैले त इन्ड्रस्टिमा ल्याएर चलाइदिने हो । काम गर भन्ने हो । पुराना नायक–नायिकाहरुसंग पनि मैले काम गरिरहेको छु । आर्यन मेरो पाँचौँ फिल्ममा पनि छ । राजेश हमालले पाँचवटा फिल्म खेल्नुभयो । श्रीकृष्ण श्रेष्ठले दुई वटा फिल्म खेल्नुभयो । सविन र किशोरले चार–चार वटा फिल्म खेलिसके । मैले ल्याएकोलाई मैले फिल्म खेलाइराखेको छु । शिल्पाको कुरा आउँदा मात्र किन रेगुलर खेलाइस भन्छन । तर मैले रेखा, राजेश, आर्यन, श्रीकृष्ण, सविन, किशोरहरुलाई रेगुलर खेलाएको किन चर्चा गरिदैन ?

    भनेपछि रेखा थापाले मात्र तपाईलाई धोका दिएको हो ?

    त्यो म मान्दिन । रेखा र म पारिवारिक रुपमा पो छुट्एिको त । उसको गड फादर आज पनि मै हुँ, भोलि पनि । उ राम्रो कलाकार हो । मैले भन्नुपर्दा अहिलेपनि नम्बर १ रेखा थापा नै हो ।

    रेखा थापालाई फेरि पनि फिल्ममा खेलाउँनुहुन्छ ?

    उ राम्रो कलाकार, म राम्रो प्रोडुसर । त्यस्तो रोल आयो भने तुरुन्त खोलाउँछु । त्यो कुनै ठूलो कुरा होइन ।

    शिल्पा पोखरेलसंग तपाईले बिहे गर्दै हुनुहुन्छ भन्ने कुरा आइरहेको छ नि ?

    मिडियाका साथीहरुले सोध्दासोध्दा वाक्क भएर यो कुरा आएको हो । एउटा सिनेमा रिलिज नभइ, अर्को सिनेमा खेलाइयो । अनि म एक्लो मानिस । त्यही भएर शिल्पा नै यसको टार्गेट हो भनेर सोचे । त्यो केही पनि हैन । शिल्पाजी विशुद्ध कलाकार हुनुहुन्छ, म विशुद्ध प्रोडुसर । यहाँभन्दा हाम्रो अर्को रिलेशन केहीपनि छैन । म शिल्पाको गडफदर हो ।

    तपाई एक्लै हुनुहुन्छ, बिहे गर्ने त सोच्नुभएको होला नि ?

    १९ वर्षको उमेरमा मैले बिहे गरेँ । एक्लो भएको भर्खर चार वर्ष भयो । जवानीमा एक्लो जीवन बिताउन पाइँन, अब बुढेसकालमा बिताउँछु । अहिले तत्काललाई भन्ने हो भने म बिहे नै गर्दिन । तर कालन्तरमा गएर बिहे गर्न पनि सक्छु । म भर्खर ४९ वर्षको भए, अझै धेरै उमेर बाँकी  छ । यहाँ ७० वर्षका मानिसले पनि बिहे गरेका छन । मैले शिल्पाजीलाई पनि भनेको छु ।  तपाईको वाईफ्रेण्ड होला तर अहिले बिहे नगर्नुस । जवानीमा बिहे गरेर मेरो घर राम्रो भएन । तपाई भर्खर सिनेमा इन्ड्रष्ट्रीमा छिर्दै हुनुहुन्छ ।  तपाईको भविश्य यही छ भने अहिले नै तपाई बिहे नगर्नुस । ३० वर्षको भएपछि मात्र बिहे गर्नुस । बिहे गरिसकेपछि फिल्म लाइनलाई जय नेपाल गर्नुस, बच्चा पाउँनुस, घरमा बस्नुस, नो टेन्सन ।

    बिहे गरिसकेपछि पनि त नायिका चलेकै छन ?

    बिहे गरिसकेपछि घरमा टेन्सन हुन्छ । फिल्मी क्षेत्रमा लागेपछि घरपरिवारलाई टाइम दिन सकिदैन । त्यसैले किन अनावश्य टेन्सन लिने ?

    रेखा थापाको ‘हिम्मतवाली’ लाई तपाईले कसरी लिनुभएको छ ?

    मैले यो सिनेमा हेरेको छैन । बजारमा मिश्रित प्रतिक्रिया आएका छन् । कसैले राम्रो भनेका छन, कसैले नराम्रो पनि । नेपाली सिनेमा क्षेत्रमा अलग धार र धार गरेर दुई वटा ग्रुप छ । रेखा थापा र मेरो एउटै धार हो । धार नमिल्नेहरुले फिल्म चलेन भन्छन । तर मलाई जहाँसम्म लाग्छ रेखा थापाको फिल्म चलेको छ । रेखा थापा लक्की मानिस हो, उसले एक्लै फिल्म रिलिज गरिन, त्यसको दुई हप्तासम्म पनि अन्य सिनेमाहरु रिलिज नै भएनन ।

    रेखा थापाले दशैँमा एकलौटी गरिन, अव तपाई तिहारमा एकलौटी गर्दै हुनुहुन्छ ?

    रेखा थापासंग मेरो प्रतिष्पर्धा नै छैन । उ मेरो बच्चा हो । रेखा थापाले हारेपनि म हार्छु, रेखा थापाले जितेपनि म हार्छु । म एउटा गार्जेन हो । रेखा थापासंग म कहिल्यै भिड्न पनि जान्न ।

    लज्जा र हिम्मतवालीको प्रतिष्पर्धा नै हुदैन ?

    हुँदैन । रेखा थापाले जहिले पनि जितेको हुन्छ । आजमात्र होइन, भोलिको दिनमा पनि रेखा थापासंग म कहिल्यै पनि जुध्न जान्न । हिजोपनि रेखा थापा मसंग जुध्छु भन्दा मैले छाडिदिए । किन भने मैले जन्माएको बच्चाले जितोस भन्ने म चाहन्छु ।

    अन्तिममा केही भन्नुछ ?

    नेपालीहरुको महान चाड दिपावलीमा मैले नारी प्रदान चलचित्र ल्याउँदैछु । विगतमा ‘यो देशमा नाता’, ‘अजम्बरी नाता’, ‘हिरो’, ‘हिम्मत’, ‘किस्मत’, ‘हिफाजत’,  ‘कस्ले चोर्यो मेरो मन’, ‘रावण’ र ‘हमेसा’ जस्ता नारी प्रदान चलिचित्र बनाएँ । यी चलचित्र भन्दा पनि अलि अलग किसिमले ‘लज्जा’ बनाउने कोसिस गरेको छु । नारीहरुको चार्ड भन्छन भाइटीकालाई । त्यही दिन मैले पनि नारीप्रदान चलचित्र लिएर जाँदै छु । नेपालभरीका सवै हलहरुमा देउसी भैलोको रुपमा लज्जा आउँदै छ । सिनेमाको माध्यमबाट दिपावलीको शुभकामना बाड्न चाहन्छु । र नजिकको हलमा यो सिनेमा चल्दैछ  । सवै जनाले हेरिदिनुस । छवि ओझाले कस्तो सिनेमा बनायो ? मैले गरेका गल्ती पनि औल्याइदिनुस । म चलचित्र क्षेत्र छोडेर कही जाने छैन, सुझाव छन भने पनि दिनुस । सुझावकै कारण २५ वर्षदेखि मिहेनत गर्दै यहाँसम्म आइपुगेको छु । अझै २५ वर्ष सिनेमा बनाउ भन्ने मेरो धारणा छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4