नाम चलेका कलाकार विदेशका कार्यक्रममा व्यस्त हुन थालेपछि देशभित्र हुने कार्यक्रममा ‘नक्कली कलाकार’को माग बढेको छ । स्वदेशमा हुने कार्यक्रममा कलाकारकै क्यारिकेचर गर्ने कलाकार व्यस्त हुन थालेका छन् । नाम चलेका ‘सक्कली कलाकार’को तुलनामा यस्ता कलाकारलाई सस्तो रेटमै अनुबन्ध गर्न सकिने भएकाले पनि यिनीहरू आयोजकको रोजाइमा पर्न थालेका हुन् ।
त्यस्तै, ‘नक्कली कलाकार’मध्येका एक हुन्– दिनेश काफ्ले । रेडियोमा हास्य कार्यक्रम चलाइसकेका उनी अहिले देशका विभिन्न भागमा हुने महोत्सवमा माग्नेबूढा, खड्काजी र मुस्कानपासा बनेर दर्शक हँसाइरहेछन् । क्यारिकेचरको कलाले आफूलाई व्यस्त बनाएको उनी बताउँछन् ।
नाम चलेका कलाकारको मात्रै नभएर काफ्लेले राजनीतिज्ञहरूको पनि क्यारिकेचर गर्छन् । तर, दर्शक टेलिभिजनमा देखिने नाम चलेका हास्य कलाकारकै ‘डिमान्ड’ गर्छन् । ‘केपी ओली, वामदेव गौतम, मोहन वैद्य र झलनाथ खनालको पनि क्यारिकेचर गर्छु,’ दुई हप्तादेखि सर्लाहीको लालबन्दी महोत्सवमा ‘स्ट्यान्ड अप’ कमेडी दिइरहेका दिनेशले भने, ‘सबैले माग्नेबूढा, खड्काजी र मुस्कानपासाकै प्रस्तुति मात्र मन पराउँछन् ।’ अघिल्लो वर्ष एनसेलसँग अल नेपाल टुर गरेका उनले यो वर्ष काभ्रेको भकुन्डे, नुवाकोट, सुन्दरीजल र गाईघाट महोत्सवमा दर्शकलाई हँसाइसकेका छन् । तिहारअगाडि चितवनमा हुने पर्सा महोत्सव र त्यसपछि दार्जिलिङमा हुने कार्यक्रमका लागि उनी ‘बुक’ भइसकेका छन् ।
दिनेश रामकृष्ण ढकालको स्वरमा गाइदिन्छन्, सुनील थापा र राजेश हमालको आवाज तथा हाउभाउमा अभिनय पनि गर्छन् । राजेशको क्यारिकेचरमा आफू त्यत्ति नजमेको उनको बुझाइ छ । ‘राजेश दाइको क्यारिकेचर स्टेजमा जमेन, छाडिदिएँ,’ उनले भने । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’का अगाडि उनकै क्यारिकेचर गर्ने इच्छा छ दिनेशको । तर, त्यसको मौका भने अझै जुरेको छैन । एमाले वरिष्ठ नेता झलनाथ खनालका अगाडि भने उनकै क्यारिकेचर गरेर देखाइसकेका छन् । ‘ज्यानले चाहिँ अलि साथ दिएन, स्वरचाहिँ डिट्टो मिलाउनुभयो,’ कार्यक्रमपछि झलनाथले दिएको प्रतिक्रिया दिनेशलाई अहिले पनि कण्ठ छ ।
दिनेश स्टेजमा चढेपछि दर्शक त झुक्किन्छन् नै, स्वयं आयोजकसमेत झुक्किने गरेका अनुभव पनि उनीसित छन् । ‘म नक्कली माग्नेबूढा हुँ भनेपछि झन् फोटो खिच्नेको भीड लाग्थ्यो,’ उनले सुनाए, ‘आयोजकहरू पनि मलाई सक्कली नै सम्झेर घर लग्थे ।’ कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘डिठ्ठासाब’ हास्य टेलिशृङ्खला पनि खेलिरहेका दिनेशले ‘६ एकान ६’ फिल्मको एउटा गीतमा धुर्मुसहरूसँगै माग्नेबूढा बनेर अभिनय गरेका छन् । तर, उनले सक्कली धुर्मुस र माग्नेबूढा सामुन्ने आफ्नो प्रस्तुति देखाउने अवसर पाएका रहेनछन् ।
आफ्नो क्यारिकेचर गर्दै हिँडेकामा सक्कली माग्नेबूढा केदार घिमिरेको प्रतिक्रिया कस्तो पाउनुभएको छ त ? भन्ने जिज्ञासामा दिनेश भन्छन्, ‘गाईजात्रा महोत्सवमा भेट्दा रिसाउनु त भएको छैन नि भनेर सोधेको थिएँ, उहाँले के रिसाउनु भाइ, मैले नै गर्न छाडिसकेँ भन्नुभयो ।’ – साभार -नेपाल पाटि